
काठमाडौं : दुई पुस्ताबीचको द्वन्द्वलाई लिएर फिल्म 'ब्ल्याक' निर्माण हुने भएको छ।
कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरिएको हो। आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गर्न लागेका हुन्।
आ–आफ्नो मान्यतामा अडिग रहने बाबु र छोरा पुस्ताको आन्तरिक द्वन्द्व नै फिल्मको मुख्य कथा रहेको स्क्रिप्ट राइटर मौनता श्रेष्ठले बताए।
फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ। आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र ‘तिमीसँग’मा अभिनय गरिसकेका छन् भने रेनुकाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन्। सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजाल, पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।
आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ। बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ।