
काठमाडौं : घरेलु भूमिमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको जारी खेलमा नेपालको प्रदर्शन फितलो देखिएको छ।
वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलमा नेपालले ८ विकेट गुमाउँदा एक सय रन मात्र बनाएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल २७ रन बनाएर आउट भएपछि लगातार नेपालको विकेट पतन भइरहको छ। ओपनर सुनील धमला ३ रन बनाएर क्याच आउट भएका थिए। लगत्तै ज्ञानेन्द्र आउट हुन पुगे। त्यसपछि सागर पुन १० रनमा, शरद् भेषावकर ३ रनमा आउट भए। विनोद भण्डारी ४ रन बनाउँदा बोल्ड हुन पुगे। मेहेबुब आलम २ रनमा आउट भए भने वसन्त रेग्मी ६ रनमा बाहिरिए।
नेपालको मध्यक्रम धर्मराएपछि स्कोरबोर्डमा रन बन्न सकेको छैन। यो समाचार तयार पार्दा नेपालले ३४ ओभरमा सय रन कटाएको छ।
मौसमका कारण खेल ढिला सुरु भएको थियो। साढे ९ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ।
नेपालले टस हारेपछि ब्याटिङ गरिरहेको छ।