
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागमती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन्।
बागमती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सफाइ अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताए। ‘नेपाल प्राकृतिक रुपमै सुन्दर देश हो। यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ,' उनले भने, 'बागमती सफाइ महाअभियान आफैँमा मौलिक अभियानका रुपमा स्थापित हुन पुगेको छ।'
सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उनको भनाइ छ।
यस्तै मुख्यसचिव डा सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्दै विद्यालय लगायत सार्वजनिक स्थलमा साप्ताहिक रुपमा सफा गरिने बताए।
२०७० जेठ ५ गते सुरु भएको बागमती सफाइ महाअभियान आज २०० औँ हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो। कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्च पदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो।