काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। नेपालको ब्याटिङ जारी रहेका बेला वर्षाले खेल रोकिएको हो। खेल रोकिनु अघि मैदानमा नेपाल ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको थियो। सोमपाल कामी १५ र शक्ति गौचन १८ रन बनाएर खेलिरहेका थिए।
सिनियर म्याचमा डेब्यु गरेका ओपनर सुनील धमला ३ रन बनाएर क्याच आउट भएका थिए। लगत्तै ज्ञानेन्द्र २७ रन बनाएर आउट हुन पुगे। उनले ३५ बलमा चार चौका हानेका थिए।
त्यसपछि सागर पुन १० रनमा, शरद् भेषावकर ३ रनमा आउट भए। विनोद भण्डारी ४ रन बनाउँदा बोल्ड हुन पुगे। मेहबुब आलम २ रनमा आउट भए। त्यस्तै सिनियर म्याचमा डेब्यु गरेका दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए। वसन्त रेग्मी मात्र ६ रनमा आउट भए।
नेपालको मध्यक्रम धर्मराएपछि स्कोरबोर्डमा रन बन्न सकेको थिएन। तर शक्ति र सोमपालको जोडीले क्रिज सम्हालेको थियो। दर्शकहरु भने खेल रोकिएपनि छाता ओढेर मैदानमा खेल सुचारु हुने अपेक्षाका साथ बसिरहेका छन्।
मौसमका कारण खेल ढिला सुरु भएको थियो।
साढे नौ बजे सुरु हुनुपर्ने खेल १२ बजे बल्ल सुरु भएपछि खेल ३८ ओभरमा झारिएको छ।
नेपालले टस हारेपछि ब्याटिङ गर्दैछ। अस्वस्थताका कारण आज नेपालका तर्फबाट पारस खड्काले खेल्ने छैनन्। उनको साटो ज्ञानेन्द्र मल्लले नेपाली टिमको कप्तानी सम्हाल्दैछन्।
नेपालका तर्फबाट सिनियर टिममा सुनील धमला र दीपेन्द्र सिंह ऐरीले डेब्यु गरे।
धमला ज्ञानेन्द्रसँगै ओपनिङ गर्दैछन् भने ऐरी अल राउन्डर हुन्।