काठमाडौं : एनसेल स्वामित्व हस्तान्तरणको कर विवादमा टेलियासँग लाभकर असुल गर्ने नेपाल सरकारको निर्णयमा स्वीडेनको कम्पनी टेलियाले प्रतिक्रिया दिएको छ।
स्वीडेनको अनलाइन पोर्टल एसभिडीलाई जवाफ दिँदै टेलियाकी प्रवक्ता जोहन्ना ह्यान्सनले भनेकी छन्, 'हाम्रो भनाइमा कुनै परिवर्तन छैन, हामीसँग कर माग्न नेपालसँग कुनै पनि कानुनी आधार छैन। पहिलेदेखि हामीले जे भन्दै आएका थियौं, अवस्था त्यही हो, यो पैसा हामीले तिर्ने होइन।'
बुधवारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल स्वामित्व हस्तान्तरणमा टेलियासँग पुँजीगत लाभकर उठाउने ठाडो प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा मन्त्रिपरिषद् बैठकमा विवाद भएको थियो।
कांग्रेसबाट सरकारमा सहभागी गगन थापा, प्रकाशशरण महत लगायतका नेताले अर्थमन्त्री महराको प्रस्तावको विरोध गरेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने टेलियाबाट कर उठाउने निर्णय भयो भन्दै बैठकबाट बाहिरिएका थिए।
प्रधानमन्त्री प्रचण्डले क्याविनेटबाट निर्णय भएको घोषणा भए पनि यो निर्णयको प्रस्ताव भने अहिलेसम्म तयार भएको छैन। अर्थ मन्त्रालयका सचिवद्व शान्तराज सुवेदी र राजन खनाल दुवैले प्रस्तावको टिप्पणी नउठाउने जानकारी अर्थमन्त्री महारलाई दिइसकेका छन्।
उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिव अहिले स्वेदशमा छैनन्। कामु सचिव रामकुमार आचार्यले जसको प्रस्ताव हो त्यहींबाट प्रस्ताव आउनु पर्ने भन्दै हलो अड्काएका छन्।