काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ।
संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा शनिबार बसेको पार्टीको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। हिमाल, पहाड र तराई/मधेसलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय भएको छ। दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने निर्णय भएको छ।
नयाँ शक्तिले चैत ९ गते इनरुवामा र लाहानमा सभा गर्नेछ। चैत १० गते बर्दिबास र चन्द्रनिगाहापुरमा, ११ गते भैरहवामा सभा हुनेछ। यस्तै १२ गते कोहलपुर र धनगढीमा सभा हुने पार्टीले जनाएको छ।