
काठमाडौँ : तपाईँ आज जथाभावी रुपमा सवारी गुडाइ रहनु भएको त छैन? ट्राफिक नियम मिचेर सवारी चलाइरहनु भएको छ भने तपाईँको सवारी साधान आइतबार दिनभर ट्राफिक नियन्त्रणमा हुन सक्नेछ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार कारबाहीमा पर्ने सम्पूर्ण सवारीलाई दिनभर नियन्त्रणमा लिने जनाएको छ। एक पटक कारबाहीमा परेपछि २४ घन्टासम्म प्रहरीले कारबाही गर्दैन। आजको दिनमा नियमविपरित सवारी चलाएर दुर्घटना हुने सम्भावना भएकाले दिनभर सवारी नियन्त्रण लिन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब मिङमार लामले बताए।
ट्राफिक प्रहरीले आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि ट्राफिक व्यवस्था कडा बनाएको छ। उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा तीन जना ट्राफिक प्रहरी गरी २७९ स्थानमा जाँचको व्यवस्था मिलाइएको छ। नियम उल्लङ्घन गर्नेका सवारी साधन नियन्त्रणमा लिइने तथा कागजात फिर्ता गर्नका लागि एक घन्टाको कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था बनाएको लामाले बताए।
आइतबार उपत्यकामा सवारी दुर्घटना कम गर्ने उदेश्यले १२ सय १४ प्रहरी खटाइने छन्। मापसे गरी सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा गर्ने, ठूलो हर्न बजाउने, ठूलो आवाज निकालेर सवारी चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकललाई मोडिफाई गरी चलाउने तथा अन्य गम्भीर खालका लापरबाही गरी सवारी चलाउने व्यक्तिलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको डिआइजी लामाले बताए।