PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु



पहिलोपोस्ट

फलेवास (पर्वत) : हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ। 

सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ। पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो। कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। 

पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ। जिल्लाको कुल जनसङ्ख्यामध्ये एक लाख ३६ हजार ७१० जनालाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिए। 

अभियानका लागि ३८० जना स्वास्थ्यकर्मी र एक हजार ५० जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ। 

दुई वर्षभन्दामाथिका सबैजनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बरालले जानकारी दिए। 

औषधि खाँदा केही लक्षण देखिने भए पनि पर्वतमा हालसम्म कुनै प्रकारको जटिल समस्या भने नदेखिएको कार्यालयले जनाएको छ। तर गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगी र ७० वर्षमाथिका वृद्धवृद्धालाई भने औषधि खुवाउन नहुने कार्यालयले जनाएको छ। 

नेपालका २५ जिल्लामा छैटौँ पटकसम्म खुवाएपछि अभियान सम्पन्न भएको छ भने पर्वतलगायत ३६ जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि यो अभियान जारी रहेको छ। सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गराउने लक्ष्य राखेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell