जुम्ला : बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ।
शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो। चिसोले स्थानीयवासीलाई आवतजावत गर्न असहज भएको छ। लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक पक्की भएकाले छोटो दूरीका गाडी गुड्न सामान्य सुरसार गरे पनि गाडी चढ्ने यात्रु नै भेटिएनन्।
पाँच दिनदेखि जुम्लामा हवाई यातायात पनि ठप्प भएको छ। आकाश मार्गबाट आएर फर्कने पाहुना जुम्लामा रोकिएका छन्। शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय खोलिए पनि सेवाग्राहीको आवातजावत शून्य रह्यो। व्यापार व्यवसाय तथा साना–ठूला विभिन्न क्षेत्रका उद्योग पनि तीन दिनदेखि बन्द छन्। हिउँले सदरमुकाम जुम्लासहित कर्णाली क्षेत्र सेताम्य छ।
हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले आज पनि बेला बेलामा बादल आउने र चिसो बढ्ने बताए। शनिबार अधिकत तापक्रम ७.८ डिग्री सेल्सियस र वर्षा ९७ मिलिमिटर भएकामा आज बिहानको न्यूनतम तापक्रम–२.५ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख चौरसियाले जनाए। त्यसैगरी सदरमुकाम जुम्लामा २०.२ सेन्टिमिटर हिमपात भएको उनको भनाइ छ।
उनका अनुसार हिमपात कालीकोट र मुगु जिल्लामा कम परे पनि सबैभन्दा बढी हुम्ला, डोल्पा र जुम्लामा परेको छ। यी तीनै जिल्लाका उच्च भेकमा करिब चार फिट हिउँ परेको जनाइएको छ। रासस