
काठमाडौं : उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्दै कमल थापा अकस्मात सरकारमा गएकोमा अशन्तुष्टी जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले पार्टी छाडेका छन्। उनले थापामाथी ११ बुँदे गम्भिर आक्षेप लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका हुन्।
उनले बुझाएको राजीनामा पत्रमा पार्टीको नीति लत्याएर राजनीतिक सौदाबाजी गरेर सरकार टिकाउन पार्टी नेतृत्व सत्तामा गएको, मधेस समस्यालाई पार्टीका अध्यक्षले आफु पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेको, देशमा संकट देखेपछि त्यसलाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उद्धृत संस्कार र प्रबृत्ती देखिएको गम्भिर आरोप लगाएका छन्।
'आज देश अशान्त छ। राजनीतिक भिडन्त्रमा सर्वसाधारण मरेका छन्। देशको सिमानामा समेत नेपाली मारिएका छन्। यसबारे केन्द्रिय समिति तुरुन्त बोलाई पार्टीमा व्यापक छलफल गर्नुको साटो संकटको फाइदा उठाई सरकारमा स्थतान जमाउन र सरकार टिकाउन तयार हुनु अवसरवादी चरित्र हो,' उनले राजीनामा पत्रमा लेखेका छन्' देशमा संकट देखेपछि त्यसलाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उद्धृत संस्कार र प्रवृतिप्रति मेरो गम्भिर असहमति रहेको छ।'
एनसेल प्रकरणमा आपत्ति
पूर्व अर्थमन्त्रि समेत रहेका लोहनीले एनसेल कम्पनिको कारोबारसँग गासिएको ३५ अर्ब राजस्व नउठेको र तामाकोसिको विद्युत एक मेगावाटको १६ करोड पर्ने अवस्था आउँदा समेत वर्तमान सरकार यो गुमाउन तयार रहेको देखिएको। यस विषयमा मन्त्रीपरिषद् बैठकमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे राप्रपाको धारणा नआएको र पार्टी नाङ्गो भ्रष्टचारलाई समर्थन गर्न सत्तामा गएको उनको आक्षेप छ।उनले राजदुत नियुक्ति, राप्रपाको चुनाव चिन्ह परिवर्तन लगायतमा समेत गम्भिर असहमती जनाउँदै' राप्रपामा नितान्त अवसरवादी र अराजक प्रवृतीबाट पार्टी प्रतिष्ठा ध्वस्तहुँदै गइरहेको' आरोप लगाएका छन्। यस्तो नेतृत्वबाट राष्ट्रियताको सम्बर्धन हुन नसक्ने ठोकुवा गर्दै उनले ' देश र जनताको हितका लागि काम गर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आवद्ध हुन देश र जनताप्रति विश्वासघात हुने उल्लेख गर्दै उनले पार्टीबाट अलग हुनुपरेको' बताएका छन्।