
कपिलबस्तु : नेपाली सेनाका होमलाल श्रेष्ठले तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन्।
सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलबस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरिएको म्याराथनमा ४२ दशमलव १९५ किलोमिटरको दुरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरे।
‘म पहिले अल्टा रनर थिए, म्याराथनको ट्रेनिङ गरेको २ वर्षअघिबाट हो। बुद्ध जन्मस्थलमा आएर उपाधि जित्दा खुशी लागेको छ’, होमलालले भने। जितसँगै मुलुकमा दिगो शान्ति स्थापनाका लागि बुद्धसँग प्रार्थना गरेको होमलाले प्रतिक्रिया दिए।
सशस्त्र प्रहरी बल एपीएफका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङसहित दोस्रो भए। त्यस्तै २ घण्टा २४.४१ सेकेण्डमा दौड पूरा गरेका नेपाल आर्मीका खगेन्द्र भाट तेस्रो भए।
विजेता होमलालले १ लाख नगद हात पारे। दोस्रो हुनेले ७५ र तेस्रो हुनेले ५० हजार प्राप्त गरे।
बुद्धत्व प्राप्तिपछि कपिलबस्तु आउँदा बुद्धले पिता सुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट शुरु भएको तिलौराकोट, दोहनी हुँदै मायादेवी बगैंचामा पुगेर सकिएको थियो।
बुद्धिष्ट सर्किट्स डट कम र एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको पर्यटन मुलक प्रतियोगितामा हाफ म्याराथनको उपाधि टंक पुनले जिते। उनले १ घण्टा ९ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरे।
दोस्रो भएका नेपाल आर्मीका रामजी बस्नेतले १ घण्टा १० दशमलव २८ सेकेण्डको टाइमिङ निकाले। त्यस्ते आर्मीकै टीकाराज कट्वाल १ घण्टा १० दशमलव ३१ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।
हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार नगद हात पारे।
प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता रहेको इभेन्ट म्यानेजर रिकी योञ्जनले जानकारी दिए।
बुद्धको जन्मस्थलमा गरिएको पिस म्याराथनले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै खेल पर्यटनको सम्भावनाको नयाँ आयाम समेत थपेको एड्भेन्चर स्पोर्ट्स नेपालका निर्देशक शिखर पाण्डेले बताए।
‘बुद्ध जन्मस्थलमा आयोजना गरिएको म्याराथन भएकाले यसले विशिष्ट किसिमको महत्व बोकेको छ। हामी यसलाई बृहत बनाउने योजना गर्दैछौं, उनले थपे, ‘बुद्धको जन्मस्थल नेपाललाई चिनाउनका लागि पिस म्याराथन एउटा महत्वपूर्ण इभेन्ट बन्छ भन्ने हाम्रो विश्वास छ।’
'बुद्धको पाइला पछ्याउँदै' नारा दिइएको प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिइने प्रतियोगिताका परिकल्पनाकार बिक्रम पाण्डेले बताए। ‘बुद्धको दरबारदेखि जन्मस्थलसम्मको क्षेत्रभित्र अवस्थित क्रकुचन्दमुनी बुद्ध र कनकमुनी बुद्धको मातृभूमि समेटी आयोजना गरिएको दौड विश्वमै पहिलो हो, पाण्डेले भने, ‘यस्ता खाले आध्यात्मिक खेल दौडलाई निरन्तरता दिंदै धार्मिक पर्यटनमा टेवा पुर्याउने हाम्रो चाहना छ ।’
सन् २०१२ बाट शुरु गरिएको प्रतियोगितामा ओलम्पिक स्टाण्डर्डको ४२ दशमलव १९५ किलोमिटरको दौड गरिएको यो पहिलो अवसर हो। २०१३ मा आयोजित पिस म्याराथनमा दोहनीदेखि लुम्बिनी बगैंचासम्मको दुरी तय गरिएको थियो।