
डडेल्धुरा : जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि जिल्लास्थित घोषणा गरिएका पाँच गाउँपालिका र दुई नगरपालिकाका इलाका कार्यालय धमाधम उद्घाटन भइरहेका छन्।
जिविसको कार्यालय र १८ गाविस रहेका डडेल्धुरा जिल्लालाई दुई नगरपालिका र पाँचवटा इलाकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जिविसले जनाएको थियो।
स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु धमाधम उद्घाटन हुन थालेका स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी गराए।
डडेल्धुरामा अमरगढी र परशुराम गरी दुई नगरपालिका र अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गरी पाँच इलाकामा १८ गाविसलाई विभाजन गरिएको हो।
गाउँपालिका विभाजनसँगै इलाका कार्यालयहरुमा वरिष्ठ सचिवले कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी कार्यालय व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको जनाइएको छ। गाविसबाट गरिने कामकाज वडा कार्यालय र अन्य कार्यहरु इलाकाबाट गरिने व्यवस्था रहने गरी सर्वसाधारणका कामकाज आगाडि बढाइने इलाका कार्यालयले जनाएको छ। रासस