काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। वैशाख ३१ गते हुने चुनावका लागि आवश्यक सबै सामग्री, ऐनकानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने उनले स्पष्ट पारे।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले आयोगले आफ्नो कामलाई तीव्रता दिइरहेकाले चुनावको लागि वातावरण बनाउन सबै राजनीतिक दललाई आग्रह गरे। ‘दलहरुबीच देखिएका सबैखाले विमति र असन्तुष्टिलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ,’ आयुक्त यादवले भने, 'दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्छ।'
मधेसी मोर्चाले ०६४ सालामा चुनावमा भाग नलिने निर्णय गरेको भए पनि पछि चुनावमा आएको उल्लेख गर्दै उनले सबै दलले स्थानीय तहको निर्वाचनमा भाग लिने विश्वास गरे।
आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पुनवरावलोकन भइरहेको, मतपत्र छपाइ भइरहेको उनले जानकारी दिए। ‘जनशक्ति व्यवस्थापनको काम भइरहेको छ, यसको लागि हामीले सरकारलाई चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौं,’ उनले स्पष्ट पारे।
स्थानीय तहको प्रतिवेदन अनुसार ७४४ युनिटमै एकै दिनमा निर्वाचन गर्नुपर्ने भएकोले यसको लागि सरकारले आफ्नो दायित्व र कर्तव्यको रुपमा मधेसमा पनि चुनाव गराउनुपर्ने उनको भनाइ छ।
मतपत्र छपाइबारे पत्रकारको जिज्ञासमा यादवले भने, ‘चैत्र ५ गतेभन्दा अघि नै छपाउने गरी तयारी भइरहेको छ।’ करिब १ करोड ४० लाख मतदाताहरु हुने आफूहरुले अनुमान गरेको उनले जानकारी गराए।