PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

सत्ता सन्तुलन मिलाउन मन्त्रीकै सरुवाः एक बेरोजगार



रमेश वाग्ले

सत्ता सन्तुलन मिलाउन  मन्त्रीकै सरुवाः एक बेरोजगार

काठमाडौं :संविधान संशोधन र समर्थन फिर्ता लिने मधेसी मोर्चाको चेतावनीपछि सत्ता सन्तुलन मिलाउन सक्रिय भएको सत्ताधारी दलले राष्ट्रिय प्रजातन्त्र पार्टीको सरकारमा हैसियत बढाउँदा ४ जना राज्यमन्त्रीको सरुवा भएको छ भने एक मन्त्री बेरोजगार भए।

संविधान संशोधन गरेर स्थानीय चुनावको वातावरण बनाउने ध्याउन्नमा रहेको सत्ता गठबन्धले राप्रपाको माग अनुरुपका मन्त्रालय दिँदा राज्यमन्त्रीको भटाभट सरुवा भइरहेको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहेकाले सरुवाकोक्रम यत्तिमै रोकिने देखिदैन।

राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालय मागेपछि स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा रहेका हितराज पाण्डे  बेरोजगार भए। विकल्पमा उनलाई अर्को मन्त्रालयको प्रस्ताव गरिएपनि सरुवा भन्दा बेरोजगार हुनै राजी भए पाण्डे।

राप्रपाकै दिलनाथ गिरीलाई पर्यटन मन्त्री र पर्शुराम तामाङलाई राज्यमन्त्रि दिएपछि त्यहाको जिम्मेवारी लिएका मन्त्री र राज्यमन्त्रीको सरुवा भयो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा रहेका जीवनबहादुर शाही खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भए। उनकै राज्यमन्त्री रहेका इन्द्र बाँनिया केही दिन विनाविभागीय बसे र गृह मन्त्रालय सरुवा भए।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको सोमबार भारत जाने भएकाले गृहराज्यमन्त्रीमा नियुक्त भएकै दिनबाट बाँनियाले कार्यवाहक गृहमन्त्री भएका छन्। यस्तै संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालीरहेका माओवादी सांसद श्रीप्रसाद जगेवु प्रधानमन्त्रीले नै हेर्दै आएको पशुपन्छि विकास मन्त्रालयका राज्यमन्त्री भएका छन्। खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी पाएका प्रेमबहादुर सिंहको विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ।

सरकारले फोरम लोकतान्त्रिकलाई पनि सरकारमा लल्याउने तयारीलाई तिब्र बनाएको छ। गृह र अर्थबाहेकका मन्त्रालय छान्ने अवसर पाएका विजयकुमार गच्छदारले मन्त्रालय चयन गरिसकेका छैनन्। उनी सरकारमा आउँदा अन्य मन्त्री र राज्यमन्त्रीको समेत सरुवा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell