PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

डब्लुसिएलमा नेपालको सम्भावना कायमै, नेपालद्वारा केन्या ७ विकेटले पराजित



पहिलोपोस्ट

डब्लुसिएलमा नेपालको सम्भावना कायमै, नेपालद्वारा केन्या ७ विकेटले पराजित

काठमाडौँ : उत्कृष्ट बलिङ तथा कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले आइसिसी डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेको छ।

नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा केन्यालाई ७ विकेटले हराउँदै पहिलो खेलको हारको बदला समेत लिएको छ भने शीर्ष चारमा पर्दै अर्को वर्ष बंगलादेशमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने सम्भावना पनि जिवितै राखेको छ।

१५६ रनको लक्ष्य नेपालले  ३१औं ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‌यो।


नेपालको लागि दीपेन्द्र एेरीले ६२ रन बनाए। उनले एक छक्का समेत प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६४ रनमा नटआउट रहे।
मल्लले ९३ बल खेल्दै ८ चौका र एक छक्का प्रहार गरे।

१४ रन हुँदा चौथो ओभरमा २ विकेट गुमाएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र र दीपेन्द्रले सम्हालेका हुन्। ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १११ रनको साझेदारी गरे।

यस्तै शरदले नेपालको जितमा छक्का प्रहार गर्दै उत्कृष्ट फिनिसिङ गरे। उनले ११ बलमा ४ चौका र एक छक्को मद्दतमा नटआउट २४ रन बनाए।

यसअघि टस जितेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गर्दै केन्यालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कप्तान ज्ञानेन्द्रको उक्त निर्णयलाई बलरहरुले सहि सावित गर्दै केन्यालाई ४६.१ ओभरमा १५५ रनमै अलआउट गर्‌यो। केन्यालाई कम स्कोरमा रोक्न नेपालका लागि शरद भेषावकरले सर्वाधिक ४ विकेट लिए।

यस्तै मेहबुब आलमले ७ ओभर बलिङ गर्दै ५ मेडन राख्दै ११ रन खर्चेर २ विकेट लिए। यसबाहेक बसन्त रेग्मीले २ तथा सागर पुन र सन्दीप लामिछानेले समान १ विकेट लिए।

केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ४८ रन बनाए भने ओपनर इरफान करिमले ३८ रन जोडे।

जितसँगै २ अंक जोडेको नेपालले १० खेलबाट अंक तालिकामा ८ अंक जोडेको छ भने नेपाल छैटौ स्थानमा यथावत छ। हापछि पनि पहिलो खेलमा विजयी भएको केन्या १० अंकका साथ पाँचौ स्थानमा कायमै छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell