काठमाडौं : उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनै पनि द्विविधा र अस्पष्ट नरहेको बताए। ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, तपाईंहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजीनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं,’ उनले भने।
राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनै परिवर्तन नभएको जिकिर गरे। ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिले पनि त्यही छ,' उनले भने, 'म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनै परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं।’
आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पार्दै मन्त्री थापाले वैशाख ३१ गते निर्वाचन हुनेमा कसैले पनि शंका गर्न नहुने बताए। ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री भएदेखि नै हामीलाई सरकारमा आउन आग्रह गर्नुभएको थियो, तर हामीले अहिले आवश्यक छैन भनेका थियौं,' उनले भने, 'तर एकता महाधिवेश सम्पन्न भएलगत्तै पनि मलाई उहाँले सरकारमा सहभागिताको लागि आग्रह गर्नुभएकै हो, अहिले सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न चिन्ह खडा भएकोले र चुनावको सुनिश्चितता र संविधान कार्यान्वयनको लागि हामी सरकारमा सहभागी भएका हौं।’