PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

निर्वाचनमा चुनावी खर्चलाई स्वच्छ, पारदर्शी बनाउन व्यवसायिक समुदायको माग



पहिलोपोस्ट

निर्वाचनमा चुनावी खर्चलाई स्वच्छ, पारदर्शी बनाउन व्यवसायिक समुदायको माग

काठमाडौँ : राष्ट्रिय व्यवसायिक पहलले स्थानीय निकाय निर्वाचनमा चुनावी खर्चलाई स्वच्छ, पारदर्शी बनाउन निर्वाचन आयोगसँग माग गरेको छ। 

पहलका अध्यक्ष पद्यज्योतिको नेतृत्वमा पदाधिकारीहरुको टोलीले वैशाख ३१ गते घोषणा भएको स्थानीय निकाय निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोगका आयुक्तहरुसँग भेट गरी यस्तो माग गरेको हो। 

भेटमा अध्यक्ष पद्यज्योतिले विगतका निर्वाचनहरु झैं अव्यवस्थित रुपमा करकाप र जबजरस्तीपूर्ण चन्दाको माग नहोस् भन्ने सङ्गठनको जोड रहेको बताए। उनले भने, ‘यसका लागि उद्योगी व्यवसायीहरुले व्यक्तिगत उम्मेद्वार वा सैयौं राजनीतिक दलहरुलाई पटक–पटक चन्दा दिनुको सट्टा सामुहिक रुपमा कुनै कोषमा एकै पटकमा सहयोग जम्मा गर्ने वातावरण भएमा निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुने सुझाव दिएका छौं।’ 

त्यसैगरी उपाध्यक्ष कुशकुमार जोशीले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको एक मूल कारण राजनीतिक दलका आर्थिक गतिविधिहरु पारदर्शी नभएको भएको बताए। उनले भने, ‘दल तथा उम्मेद्वारहरुले स्थायी लेखा नम्बर लिने, बैंक चेकको प्रयोग गर्नेजस्ता सामान्य प्रचलनबाट पनि धेरै सुधार गर्न सकिन्छ, निर्वाचन आयोगले आसन्न निर्वाचनमा दलहरुको आम्दानी र खर्चको व्यवस्थापनका लागि ल्याउने नियम तथा आचारसंहिताहरुलाई हामी निजी क्षेत्रले पूर्ण समर्थन गर्नेछौं र दलहरुबाट ती नियमहरुको व्यवहारिक परिपालना गर्नका लागि पनि खबरदारी गर्नेछौं।’ 

भेटमा प्रमख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘नेपाली जनताले लामो पर्खाइपछि स्थानीय निकायको निर्वाचनको घोषणा भएकोले यसलाई सफल तुल्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्छ, वैशाख ३१ को निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन एवं आर्थिक चलखेल हुन नदिन हामी हरसम्भव प्रयास गर्नेछौं।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell