PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

विश्व बैंकका निर्देशक र योजना आयोगका उपाध्यक्षको भेट, लगानीको सुरक्षामा विश्व बैंकको चासो



पहिलोपोस्ट

काठमाडौँ : नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग सोमबार भेट गरेका छन्। भेटका अवसरमा नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए। उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरे।

आगामी केही वर्ष भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने बताउँदै उपाध्यक्ष डा श्रेष्ठले विश्व बैंकलगायतका विकासका साझेदार संस्थाबाट वैदेशिक लगानी भित्र्याउन आवश्यक सहयोगको अपेक्षा गरे।

निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell