PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

पारस खड्काले जसलाई भने – 'तपाईँ लक्की, आउनुभएकाले खेल जितियो'



पहिलोपोस्ट

पारस खड्काले जसलाई भने – 'तपाईँ लक्की, आउनुभएकाले खेल जितियो'

काठमाडौँ : केन्यासँगको खेल ११८ बल बाँकी छँदै सात विकेटले जितेपछि मैदानमा जताततै खुसियाली छाएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित कप्तान पारस खड्का पनि टिममेटलाई बधाई दिँदै थिए।

यत्तिकैमा उनको नजर खेलाडीको आफन्त र पाहुनाहरु बस्ने दीर्घातर्फ गयो। ह्विलचेयरमा बसिरहेका एक वृद्धलाई देख्ने बित्तिकै उनी मैदानबाट हुर्रिँदै मिडिया बक्स नजिकै रहेको पाहुना दीर्घातर्फ पुगे। हालखबर सोधे। अनि भने – 'तपाईँ लक्की हुनुहुँदो रहेछ, आउनु भएको रहेछ र आज खेल जितियो।'

ती व्यक्ति पनि पारसको 'कमेन्ट' सुनेपछि खुसी भए। अनि शनिबार आउन नसकेको दुखेसो सुनाए।


पारसले भेटेका ती व्यक्ति थिए पर्वतका रुक्माङ्गत न्यौपाने। रुक्माङ्गत ह्विलचेयरको सहारामा कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका थिए। पोलियोका कारण दुवै खुट्टा गुमाएका रुकमाङ्गतको पारससँगको चिनजान भने छोराको सपनाले गराएको हो।

रुक्माङ्गतका छोरा प्रशान्तको क्रिकेटर बन्ने चाहनालाई साथ दिएपछि पारससँग उनको चिनजान भएको हो। प्रशान्तको क्रिकेटर बन्ने चाहनालाई एक व्यक्तिले पारससम्म पुर्‍याएका थिए। अनि पारसले प्रशान्तलाई राजधानीकै हिमालयन क्रिकेट एकेडेमीमा क्रिकेट सिक्ने मौका जुराइदिए। अनि पारसकै सहयोगमा अहिले प्रशान्त शान्तिनगरस्थित बेबिलोन नेशनल उच्च माविमा कक्षा ८ मा पढ्छन्।

को हुन् प्रशान्त?

क्रिकेटर बन्ने सपना पालेका प्रशान्त पर्वतमा जन्मिएर हुर्किएका हुन्। मैदानसमेत नभएको स्थानमा क्रिकेटर बन्ने सपना पालेका उनलाई राजधानीसम्म एक कृषि विद्यार्थी सञ्जय काफ्लेले लिएर आए। काफ्लेले प्रशान्तसँग पर्वतमा भएको भेटबारे फेसबुकमा लेखेपछि खबर पारससम्म पुगेको थियो।


प्रशान्तले क्रिकेट खेल्न साथ दिने कोही साथी नभएपछि पर्वतमा बाख्राको पुच्छरलाई अम्पायर सम्झिएर प्लाष्टिकको बल र घरमा नै बनाएको ब्याटद्वारा क्रिकेट खेल्न सिकेका हुन्। उनले आफ्नो कापीमा समेत क्रिकेटरहरुको फोटो काटेर टाँसेका छन्। उनी भारतीय इण्डियन प्रिमियर लिग देखि नेपालको धनगढी लिगसम्मका खेलाडीहरुको नाम समेत खरर भन्न सक्छन्।
 
उनै प्रशान्त र उनका हिरो नेपाली राष्ट्रिय टोलीका नियमित कप्तान पारस खड्काको भेट भने नेपाल र नामिबियाविरुद्ध कीर्तिपुरमा भएको खेलका क्रममा भएको थियो। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell