PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

होली खेलेर जम्मा पारेको रकमबाट निजी स्रोतका शिक्षकलाई तलब



रासस

बैतडी : यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन्। धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएको छ।
 
सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर रु ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिए।
 
यस्तै, दोगडाकेदार गाउँपालिकाको कफलकोटमा रहेको रौलेश्वर माविले होली खेलेर रु ८० हजार सङ्कलन गरेको र सबओभरसियर पढिरहेका विद्यार्थीको शैक्षिक भ्रमणमा खर्च गर्ने विद्यालयले तयारी गरेको स्थानीय बासिन्दा धनबहादुर भाटले जानकारी दिए।
 
जिल्ला दैवीप्रकोप तथा उद्धार समितिले खेलाएको होलीबाट सो रकम सङ्कलन भएको छ। उक्त रकम विपद् जोखिम व्यवस्थापनमा खर्च गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए।
 
यसैगरी, पाटन नगरपालिकाको वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविले पनि होली खेली रु एक लाख १० हजार नगद सङ्कलन गरेको छ। सो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गरिने विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell