PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मिर्मीका स्थानीयवासीले थुने एलडिओसहितका कर्मचारी



रासस

वालिङ : स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई सोमबार मिर्मीका स्थानीयवासीले थुनेका छन्। सोमबार जिल्लाको मिर्मीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन्। 

कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो। कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन्। 

सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी थप आक्रोशित भएका हुन्। 'सभाहलमा सार्वजनिक सुरु हुनासाथै आक्रोशित भीडले बाहिर र भित्र दुवैबाट च्यानल गेटमा तालाबन्दी गरेका हुन्, सभाहलमा जिविसका एलडिओसहितका कर्मचारी तथा कार्यक्रममा सहभागी अन्य स्थानीयवासी पनि थिए', प्रत्यक्षदर्शी भोजराज अर्यालले बताए। 

स्थानीयवासीले दिउँसो करिब १ घन्टा स्थानीय विकास अधिकारी अर्यालसहित जिविसका सूचना अधिकृत धनप्रसाद कोइराला, योजना अधिकृत यामप्रसाद रेग्मी तथा सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरु पनि सभाहलमै थुनिएका थिए। 

एक हप्ताअघि स्याङ्जामा सरुवा भएर आउनुभएका स्थानीय विकास अधिकारी अर्यालले भने केन्द्र कहाँ राख्ने भन्ने विषय निर्वाचित जनप्रतिनिधिले बहुमतका आधारमा टुङ्गो लगाउन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell