बर्दिवास : महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन्।
पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम बढेपछि वन क्षेत्रसँग जोडिएका बस्तीमा जोखिम बढेको हो। दिनहुँ डढेलो लागेको देखिने जिल्लाका बाँके, मरहा, टुटेश्वर र माइस्थान वनक्षेत्रसँगै जोडिएका बर्दिवास नगरपालिकाका भब्सी, ढुङ्ग्रे, गणन्ता, वरडाँडा, टुटेश्वर, चेरु र हालै यसै नगरपालिकामा गाभिएका खयरमारा र हाथीलेटलगायत बस्तीका बासिन्दाले जङ्गलमा डढेलो देखेपछि आगलागीको भयले नसुतिकनै रात कटाउने गरेका छन्।
त्यसैगरी गौशाला नगरपालिकाको रामनगर र हालै यस नगरपालिकामा गाभिएका बेलगाछी, लक्ष्मीनियाँसहितका बस्ती पनि वन क्षेत्रसँगै जोडिएकाले दिनहुँ वनक्षेत्रमा लाग्ने डढेलोको त्रासले राम्ररी निदाउन नसकिएको बेलगाछी बस्तीका सामाजिक कार्यकत्र्ता मीन रहपालले बताए।
हिउँदमा वन क्षेत्रका रुखबाट झरेका पात चर्को घामले खरिएका हुँदा त्यसमा आगाको झिल्काले भेट्नासाथ सल्किई डढेलो बढ्ने गरेको छ। आफ्नो बस्ती नजिकैको वनमा दिनहुँ देखिने डढेलोको त्रासले कुनै रात राम्ररी सुत्न नपाइएको चेरुका बासिन्दा प्रदीप अधिकारी बताउँछन्। पाँच दिनअघि परेको पानीले डढेलो केही मत्थर जस्तो देखिए पनि दुई दिनपछि नै फेरि वनक्षेत्रमा आगाको मुस्लो देखिन थालेको अधिकारीको भनाइ छ।
जङ्गलमा डढेलो लगाउने काममा पनि वनक्षेत्र वरिपरिकै बासिन्दा हुने गरेको जिल्ला वन कार्यालयका अधिकारीको ठम्याइ छ। वसन्त ऋतुमा डढेलो लगाइएको वनमा नयाँ घाँस उम्रने विश्वासमा वनक्षेत्र वरिपरिकै खासगरी पशुपालक किसानका परिवार डढेलो लगाउने काममा लाग्ने गरेको अहिले इलाका वन कार्यालयका सहायक वन अधिकृत चन्देश्वर यादवले बताए।
डढेलो लगाउनेमाथि निगरानी बढाइएको वनका अधिकारीले बताए पनि अहिलेसम्म सो अभियोगमा कसैलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन। जिल्लामा धार्मिक, साझेदारी, सामुदायिक र निजी गरी करिब नौ हजार हेक्टरमा वनक्षेत्र रहेको कार्यालयले जनाएको छ।
वन क्षेत्रमा बर्सेनि वसन्त ऋतुमा लाग्ने डढेलाले करोडौँको वन सम्पदा विनाश भइरहे पनि वन कार्यालयले यसको रोकथाम र नियन्त्रणमा भने परिणाममुखी कुनै प्रयत्न नगरेको बर्दिवास नगरपालिकामा गाभिनुअघिको हाथीलेट गाविसका निवर्तमान अध्यक्ष निर्मल श्रेष्ठले बताए।
जिल्लामा यसपालि पनि २०० हेक्टरभन्दा बढी क्षेफलका रुखबिरुवा डढेलाले सखाप पारिसकेको वन कार्यालयका कर्मचारीले नै स्वीकार गरेका छन्। यस क्षेत्रका सामाजिक, राजनीतिक कार्यकर्ता र सर्वसाधारणले भने डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले कानुनअनुसारको कडा कारबाही गर्न थाले केही नियन्त्रण हुने सुझाव दिएका छन्।