
काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेस मती’ अन्तिम सातामा पुगेको छ। फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको नाटकलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्।
हाँस्यप्रधान नाटक 'मान भर्सेस मती’ मञ्चनको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष थिएटर मलमै र तालनगरी पोखरामा सो नाटक मञ्चन भएको थियो।
परिवार बलियो हुन विश्वासका डोरीहरु बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरी रहने ‘मान भर्सेस मती’मा पारिवारिक द्वन्द्व र प्रेम देख्न सकिन्छ। वर्तमान शहरिया दैनिकीमा मध्यम वर्गीय सामान्य परिवारमा सिर्जना हुने अवस्था नाटकमा देखाइएको छ।
नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका, कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीलको अभिनय रहेको छ।
नाटक बुधबारबाहेक हरेक दिन ठिक ५:३० बाट प्रदर्शन हुन्छ। चैत ५ गतेसम्म चल्ने नाटकको शनिबार दिउँसो १:३० बजेको पनि अतिरिक्त शो राखिएको छ।