
मलेखु (धादिङ) : 'गए सालको भूकम्प आउँदा घर नजिकैको स्वास्थ्यकेन्द्रमा गएका थियौँ। ठूलो भुइँचालो आयो, भुइँ हल्लियो। वरिपरिका घर लडे। हतारहतार घर आइपुग्दा आफ्नो घर पनि लडेछ। हामी घरअगाडि त्रिपाल हालेर बस्यौँ। यो नातिनी भने लडेर घर हेरी बस्ने र आकाशतिर हेरी टोलाउने गर्न थाली।'
सल्यानटार गाविस–७ बोक्सो गाउँकी धनकुमारी कुमाल यति भनिसक्दा गम्भीर देखिइन्। उनकी छ वर्षीया नातिनी वन्दनाको खुट्टामा बाँधेर राख्न थालिएको डेढ वर्षभन्दा बढी भइसक्यो। भूकम्पपछि वन्दनाको अवस्था ठिक छैन। एकोहोरो हिँड्ने, घरबाट निस्केपछि नफर्कने, जे पायो त्यही खाने। घरमा एक्लै छाडेर हिँड्न नमिल्ने र हराउने लड्ने आदि भएपछि उनलाई घरको पिँढीमा बाँधेर राख्ने गरेको हजुरआमा धनकुमारीले बताइन्।
भूकम्पअघि उनी विद्यालय जान्थिन्। बोल्ने गर्थिन्। विद्यालयमा शिक्षकले पढाएको कुरा घरमा आएर पढ्ने बानी थियो। जब भूकम्पपछि वन्दनाको बोली बन्द भयो, कुमाल परिवारमा दुःखका दिन सुरु भए। अहिले उनी भोक लागेको वा दिसापिसाब आएको केही बताउन नसक्ने अवस्थामा छिन्। खाने बेला भयो होला भनेर खुवाउनुपर्छ। दिसापिसाब गरेकोबारे आमाबुबाले थाहा पाएर मात्र बाहिर लाने गर्छन्। लगाइएको कपडामै फोहर गर्ने दिनचर्या नै भएको छ।
थोरै जग्गाजमिन छ। घरखर्चका लागि परिवारका मानिसलाई ज्यालामजदुरी नगरी हुँदैन। मेलापात गर्नैपर्छ। आफ्नो बच्चाको उपचार गराउँदा गराउँदा लागेको ऋण अब तिर्न नसकिने अवस्था आइसकेको वन्दनाकी आमा कमलाले बताइन्।
उनको उपचारका लागि काठमाडौँका अस्पतालमा लगेर उपचार गराउँदा धेरै खर्च भइसकेको र उपचारका लागि अब आफूले नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ।
भूकम्पपछि बनाइएको एउटा सानो कच्ची घर छ। अन्नपात सकिएको अवस्था छ। दुई चारवटा भाँडा छन्। पुरानो भइसकेका कपडाबाहेक उनीहरुसँग केही छैन। ज्याला मजदुरी गर्न जाँदा वा घर छाडेर हिँड्नु पर्दा वन्दनालाई बाँधेर राख्ने गरिएकाले कुनै उपाय भए उपचारका लागि सहयोग गरिदिनुहुन वन्दनाकी आमा कमलाले अनुरोध गरिन्।