काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा आफूले पाउने तलब नलिने भएका छन्।
चुनावी अभियानकै क्रममा राष्ट्रपति भएपछि आफूले कुनै तलब र सुविधाहरु नलिने घोषणा गरेका ट्रम्पले आगामी डिसेम्बरमा आफ्नो वार्षिक तलब दान दिने ह्वाइट हाउसका प्रवक्ताको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।
उनले आफ्नो वार्षिक तलब चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम कुनै च्यारिटीलार्इ दान दिने तयारी गरिरहेको ह्वाइट हाउसका प्रवक्ता सान स्पाइसरले बताएका छन्।
प्रवक्ता स्पाइसरका अनुसार ट्रम्पले तलब दानका रुपमा दिनको लागि उचित च्यारिटीको खोजी गर्न भनेका छन्। राष्ट्रपतिको चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति चुनिएमा आफूले तलब लिने कुनै चाहाना नभएको बताएका थिए। उनले कानुनी मान्यताका लागि न्यूनतम तलब लिने र कुनै छुट्टी पनि नलिने पनि चुनावी भाषणका क्रममा भनेका थिए।
ट्रम्पलार्इ कम दान दिने व्यक्तिका रुपमा चित्रण गरिन्छ। ट्रम्पले आफ्नो बिजनेसका क्रममा पनि विगतमा एकदमै कम दान दिने गरेको समाचारहरु सार्वजनिक भएकाले राष्ट्रपतिको रुपमा लिने तलब दान दिन लागेको विषयले चर्चा पाएको हो।