
काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।
विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो।
पहिलो चरण्मा मध्यमाञ्चलबाट सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ गरी जम्मा २ सय ५६ जना सहभागी छन्।
तीनदिने कोर्स कोरियन प्रशिक्षक क्वान यङ दल, रेफ्री संयोजक नवीनकुमार श्रेष्ठ र गोविन्द शर्माले सञ्चालन गर्ने छन्।
यस्तै कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुनेछ।