PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

देशव्यापी रुपमा निर्वाचन शिक्षा अभियान सुरु हुने



पहिलोपोस्ट

देशव्यापी रुपमा निर्वाचन शिक्षा अभियान सुरु हुने

काठमाडौँ : निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएको छ। 

आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट सुरु गरेको दुईदिने मतदाता शिक्षा ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालमा ८० प्रतिशत मतदाता निर्वाचन शिक्षामा अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताए। 

उनले मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयम्सेवकलाई परिचलान गरिने जानकारी दिए। 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, 'स्थानीय निर्वाचनमा अनुगमनलाई कडाइ गरिनेछ, दलका लागि मात्र होइन मतदाता शिक्षा कार्यक्रममा खटिएका आयोगका कर्मचारी पनि अनुगमनमा पर्नेछन्।' 

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन प्रक्रियामा नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय निर्वाचन निकै जटिल भएकाले करिब एक करोड ४० लाख मतदातालाई मतदाता शिक्षा दिने कार्य चुनौतीपूर्ण रहेको बताए। 

आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षा कार्यकर्ता र स्वयम्सेवक खटाउँदा सकेसम्म समावेशी हिसाबले खटाइने जानकारी दिए। 

दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३० जना सहभागी छन्। मुख्य प्रशिक्षकले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा र जिल्लाका प्रशिक्षकले मतदान केन्द्रलाई लक्षित गरी प्रशिक्षण दिनेछन्। 

कार्यक्रममा आयोगका आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह तथा आयोगका कर्मचारी र निर्वाचनमा सहयोग गर्दै आएका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell