PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​बेपत्ता पारिएका व्यक्ति खोजविनका लागि उजुरी दिन पीडित उदासिन



रासस

​बेपत्ता पारिएका व्यक्ति खोजविनका लागि उजुरी दिन पीडित उदासिन

रोल्पा : बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तेस्रोपटक उजुरी दिने म्याद थप गरे पनि सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पा जिल्लामा भने पीडित नै उदासिन देखिएका छन्। 

तेस्रोपटक गत फागुन १५ गते एक महिनाका लागि उजुरी दिने गरी सूचना जारी गरिएको भए पनि हालसम्म एक जना बेपत्ता परिवारले मात्र उजुरी दिइएको स्थानीय शान्ति समिति रोल्पाका कार्यालय सचिव गणेश विष्टले जानकारी दिए। 

आयोगले गत वैशाखदेखि आसारसम्म गरी दुई चरणमा उजुरी आह्वान गरेको थियो । सो अवधिमा जिल्लामा जम्मा ११६ जना बेपत्ता परिवारले उजुरी दिएको कार्यालय सचिव विष्टले बताए। 

अधिकांश बेपत्ता परिवारका सदस्यले यस पूर्व नै उजुरी दिइसकेको तथा कतिपय बेपत्ता भए पनि मृतकको सूचीबाट राहत पाएका कारण पछिल्लोपटक कम उजुरी आएको हुनसक्ने स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिए। 

पीडितसम्म सूचना नपुगेर तथा यस पूर्वको उजुरीको सुनुवाइ नभएका कारण पनि पीडितले न्याय पाइन्छ भन्ने विश्वास नभएका कारण उजुरी कम परेको हुनसक्ने द्वन्द्वपीडित श्रीकुमारी रोकाले बताइन। 

द्वन्द्वको क्रममा २०५२ फागुन १ देखि २०६३ साल मङ्सिर ५ गतेभित्र बेपत्ता भएका व्यक्तिका हकदारले उजुरी दिन सक्ने स्थानीय शान्ति समिति रोल्पाका संयोजक पूर्णे पुनले बताए। 

उजुरी दिन छुटेका पीडितलाई स्थानीय शान्ति समितिको कार्यालय रोल्पा वा आयोगको कार्यालयमा उजुरी दिन सूचनामार्फत जानकारी गराइसकेको स्थानीय शान्ति समिति रोल्पाका संयोजक पुनले बताए। 

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell