लमजुङ : पर्याप्त बजेट नहुँदा लमजुङका सिँचाइ योजना प्रभावित भएका छन् ।
जिल्लामा २०० भन्दा बढी योजनाका लागि कृषकबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिँचाइ डिभिजन कार्यालय लमजुङले जनाएको छ ।
चालु आवमा ४१ वटा मात्रै सिँचाइ योजना सञ्चालनमा रहेको डिभिजन प्रमुख वंशीहरि कोइरालाले बताए। जिल्लाका विभिन्न स्थानबाट २०० भन्दा बढी योजनाको लागि निवेदन परेका छन्’ डिभिजन प्रमुख कोइरालाले भने ‘निवेदन आए पनि बजेट नभएर चौथाइ योजनामा मात्रै काम गर्न सकेका छौँ।’
उनले ४१ वटा योजनाका लागि मात्र बजेट स्वीकृत भई आएको बताए। उनले योजना सञ्चालनका लागि सुरुमा रु साढे पाँच करोडमात्रै आएको र पछि रु साढे छ करोड बजेट थप भएको बताए।
जिल्लामा सञ्चालित ठूला सिँचाइ योजनामध्ये भोर्लेटार सिँचाइ योजना (रु तीन करोड), करापुटार सिँचाई योजना (रु तीन करोड) र राइनासटार सिँचाई योजना (रु साढे तीन करोड) मा काम सुरु भइसकेको छ।
रम्घाटार सिँचाइ योजना भने एसियाली विकास बैंकको सहयोगमा चैत महिनाभित्रमा सम्झौता हुने तयारीमा छ।
यसैगरी घेर्मुको रु एक करोड १० लाखमा निर्माण भइरहेको चामेखोला सिँचाइ योजना काम ५० प्रतिशत सकिएको छ । घनपोखराको मुग्रेखोला सिँचाइ योजना रु १७ लाखमा निर्माण थालिएको छ। यस्तै नया प्रविधिमा १३ वटा सिँचाइ योजना रहेका छन् भने ११ वटा सिँचाइ योजना मर्मतसम्भारका लागि रु ५९ लाख बजेट आएको छ।
जिल्लामा अझै पनि नौवटा योजना सर्भे गर्न बाँकी रहेको कार्यालय प्रमुख कोइरालाले बताए। उनले विभागमा बजेट माग गरे पनि बजेट नआएका कारण काम रोकिएको बताए।
योजना छनोट गर्दा योजना नीति नियम, निर्दे्शिकाअनुसार र लगानीअनुसार जनतालाई फाइदा पुग्ने खालको योजनालाई ध्यान दिने भएकाले पनि किसानको मागअनुसारको योजना नआएको डिभिजन प्रमुख कोइरालाको भनाइ छ।
उनले मर्मतसम्भारका योजना आर्थिक वर्षभित्रै सक्ने र नयाँ प्रविधिका योजना क्रमागत हुने बताए। कार्यालयले आगामी आवका लागि रु १६ करोड बजेट प्रस्ताव गरेको जनाएको छ।