
- शेरबहादुर सिंह
एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुरले बिर्सन सकेका छैनन्। त्यो भेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो।
गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर गोविन्दको निधन भएको समाचार सुन्दा हस्तबहादुरलाई छानाबाट खसेझैँ बनेका थिए।
'कल्भर्ट भत्काएको प्रसङ्ग कोट्याउँदै लामो समयदेखि भारतीय पक्षले हेपाहा दृष्टि राख्ने गरेको भन्दै गोविन्द निकै आक्रोशित थिए,' हस्तबहादुरले भने, 'हस्तक्षेपविरुद्ध लड्नुपर्छ, कति सहेर बस्ने, मरियो भने देशका लागि सहिद भइन्छ भन्थ्यो, साँच्चै नै त्यस्तै भयो।'
२०२८ सालदेखि आनन्दबजारमा बसोबास गर्दै आएका हस्तबहादुर शाही लामो समयदेखि भारतीय पक्षबाट नेपालीमाथि विभेद र हस्तक्षेप हुँदै आएको बताउँछन्। 'अहिले पनि सीमावर्ती भारतीय नागरिकसितको सम्बन्ध हाम्रो राम्रै छ। सीमामा भारतीय एसएसबी तैनाथ भएपछि ज्यादती बढ्यो,' उनले सुनाए।
कल्भर्ट निर्माणस्थलमा आएर गत बुधबार साँझ एसएसबीले आफूहरुको कुनै अवरोध नहुने बताएको भन्दै स्थानीय नेत्रबहादुर शाहीले सोही दिन राति नै एसएसबीले कल्भर्ट भत्काएको बताए। 'सुरुमा यो तपाइँहरुकै क्षेत्र हो, हाम्रो कुनै असहमति छैन। तर कच्ची संरचना मात्रै बनाउनुस् भने,' उनले भने, 'खै के चित्त बुझेन, राति नै आएर भत्काएछन्।'
केही वर्षअघि सीमासित जोडिएको आफ्नो खेत जोत्दा भारतीय एसएसबीले आफूलाई बाँधेर यातना दिएको गुनासो पोख्दै उनले सरकारले सीमा विवाद दीर्घकालीन रुपमा समाधान हुने गरी विकल्प खोज्नुपर्ने बताए। 'यसअघि पनि नेपाल–भारतका अधिकारीबीच सीमा चेकजाँचदेखि सबै काम भएकै हुन्। भएका सीमास्तम्भ भत्काउने र सीमा मिच्ने काम भारतीय पक्षबाट पटकपटक हुने गरेको छ,' उनले गुनासो गरे।
काङ्ग्री खोला तरेर सीमावर्ती भारतीय बसही बजारमा दैनिक किनमेलका लागि जाने आनन्द बजारवासी एसएसबीले गोली हानेर गोविन्दको हत्या गरेपछि त्रासको मानसिकतामा छन्। स्थानीयवासी हस्तबहादुर शाहीले भने, 'सीमा कता हो, के हो? सरकारले स्पष्ट गरोस्, भारतीय जनतासित हाम्रो सद्भाव कायमै छ।'
आफूले विगत १२ वर्षदेखि आफ्नो लालपुर्जा भएको जग्गा भोगचलन गर्न नपाएको स्थानीय तुलसा सुनारको गुनासो छ। 'भारतीय जहिले पनि सीमा अतिक्रमणकै मानसिकतामा बसेका हुन्छन्। रातारात सीमास्तम्भ गायब पार्ने, अनि सीमा भन्दै नेपाली बस्ती र घर देखाउने काम धेरै नै भयो,' सीमाका बासिन्दाको पीडा उनी यसरी सुनाउँछिन्।
सीमास्तम्भ नं १९९ देखि २०१ को बीचको क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहेको छ। '२०० नम्बर सीमास्तम्भ हामीले पनि देख्न पाएनौँ,' उनले भनिन्, 'एसएसबी आउँछन् नेपालीका घर देखाएर सीमा यहाँ थियो भनेर दाबी गर्छन्।'
तत्कालीन राजा महेन्द्रले पुनर्वास र दोधारा चादँनी सीमाक्षेत्रमा भूपू सैनिकलाई जग्गा दिएर बस्ती बसालेका थिए। पुनर्वासमा डेढदेखि तीन बिगाहासम्म जग्गा बाँडेर महेन्द्र राजाले सीमा जोगाउन बस्ती बसालेका थिए।' हस्तबहादुर भन्छन्, 'दीर्घकालीन सोच राखेर राजाले बनाएको योजना अहिलेका सरकारले निरन्तरता दिनुपर्छ।'
घर बनाउने सपना अधुरै
कल्भर्ट निर्माणका विषयलाई लिएर एसएसबीको गोली लागेर निधन भएका गोविन्द सहिद घोषित त भए तर उनको घर बनाउने सपना भने पूरा हुन सकेन।'घर बनाउन जग हाल्दै हुनुहन्थ्यो,' मृतक गोविन्दकी भाउजू शान्ता पौडेलले भनिन्, 'ऋण काडेर घर बनाउने र विदेश जाने सोचमा हुनुहुन्थ्यो।'
घरका माइला छोरा गोविन्दको पारिवारिक अवस्था निकै नाजुक छ। उनले निधनले वृद्ध आमाबुबा र श्रीमती लक्ष्मी भावविह्वल अवस्थामा छन्। गत मङ्सिरमा साउदीबाट आएपछि भारतमा रोजगारीका लागि गएका उनी थिए पाँच दिनमै फर्किएर घर बनाउन सुरु गरेका थिए। उता वैदेशिक रोजगारीमा जान समेत गोविन्दले भिसा प्रक्रिया सुरु गरेको उनको भनाइ छ। उनको निधनले परिवारसँगै तीन छोरीको समेत बिचल्ली भएको छ। गोविन्दका दाजु र भाइ पनि भारतको महाराष्ट्रमा मजदूरी गर्छन्। गौतमको आइतबार स्थानीय दोदा नदीमा अन्त्येष्टि गरिएको छ।
.jpg)
पकाएको खाना पनि खान पाएनन्
घरमा पकाएको खाना समेत खान नपाएर संसारबाट बिदा लिएको घटनाले उनका बाबुलाई थप मर्माहित बनाएको छ।७० वर्षीय वृद्ध बुबा खिमलालले आँसु झार्दै भने, 'कल्भर्ट निर्माणको विषयलाई लिएर विवाद भएको ठाउँमा गएको छोरो फर्केर आएन। अब मेरा तीन नातिनीको विचल्ली हुनेभयो।'
घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले परिस्थितिलाई सामान्य बनाउन दुवै देशका सुरक्षा निकायबीच पहल भइरहेको बताए। 'पहिले स्थिति सामान्य बनोस् भनेर दुवै देशका सुरक्षा निकायका अधिकारी समन्वय गरेर काम गरिरहनुभएको छ,' प्रजिअ खनालले भने, 'माथिल्लो निकायमा पनि कूटनीतिक पहल भइरहेको छ।'
उता एसएसबीका डिआइजी डिएस चौहान नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध खलल पुर्याउने खालका गलत प्रचार हुन नहुने बताउँछन्।रासस