PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चेतना फैलाउँदै धुर्मुस-सुन्तली, मुसहर बस्तीका बालबालिका विद्यालय जान थाले



रासस

चेतना फैलाउँदै धुर्मुस-सुन्तली, मुसहर बस्तीका बालबालिका विद्यालय जान थाले

गौशाला : हास्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जनचेतना र प्रेरणाले महोत्तरी बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन्।
 
जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन्।
 
धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन्।
 
धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन्।
 
विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा स्कुल पुगेका हुन्। सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन्।
 
बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन्।

जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पुर्‍याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताए।
 
दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell