PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

श्रीमान् विदेश गएपछि देवरसँगको अवैध सम्बन्धले निम्त्यायो हत्या-घटना



रासस

बागलुङ : बागलुङ नगरपालिका–१३ पैंयुपाटाकी रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ। 

‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। 

गत शुक्रबार राति रीता र टेकबहादुरले मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए। यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो। 

'झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाई दुवैले मिलेर विनोदको हत्या गरेको पाइएको छ,' खापुङले भने। घटनाबारे थप अनुसन्धान भइरहेको छ। हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो। 

शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन्। हत्यामा संलग्न टेकबहादुर र रीताका बीचमा समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। 

रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन्। टेकबहादुरकी श्रीमतीसमेत मलेसियामै रहेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell