तेह्रथुम : तेह्रथुमस्थित संक्रान्ति बजारका अग्निपीडित ३५ परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले प्रतिपरिवार नगद १० हजारका दरले राहत वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, स्थानीय विकास अधिकारी तुलसी गौतमसहितको टोलीले संक्रान्ति बजार पुगेर सो राहत वितरण गरेको हो।
गत पुस १ गते आगलागी हुँदा संक्रान्ति बजारका २४ घर पूर्णरुपमा जलेका थिए भने बाँकीमा आंशिक क्षति पुगेको थियो।
आगलागीपछि सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई समेत नगद रु १० हजार उपलब्ध गराउने घोषणा गरेका थिए। सोही घोषणा बमोजिम घर भाडामा बसेका ३५ परिवारलाई नगद १० हजारका दरले राहत वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए।
आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने कुल १४ करोड आठ लाखको क्षति भएको थियो।