
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई डाकेर सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर अघि बढ्न प्रस्ताव राखेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मोर्चाका शीर्ष तहका नेताहरुलाई डाकेर प्रधानमन्त्री दाहालले सीमांकन पछि मिलाउनेगरी संशोधन अघि बढाउन सहमति मागेका हुन्।
'उहाँले आफ्नो कुरा राख्नुभयो, सीमांकन बाहेकका बाँकी चार विषय संशोधन गरेर अघि जाऔं र स्थानीय तहको चुनाव गरौं भन्नुभयो,' मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, 'हामीले मोर्चाको बैठक बस्दैछ, त्यहाँ छलफल गरेर निर्णय सुनाउँछौं भनेका छौं।' मोर्चाको अडानमा कुनै परिवर्तन नभएको भन्दै उनले प्रधानमन्त्रीबाट नयाँ प्रस्ताव आएको विषय मोर्चामा जानकारी गराउने बताए।
मोर्चाका अर्का नेता सद्भावना अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले स्थानीय तहलाई प्रदेश मातहत राख्ने, स्थानीय तहको चुनावपछि सीमांकनका विषयमा पनि संशोधनमा प्रवेश गर्ने, नागरिकताका विषयमा आएको प्रस्ताव पारित गर्ने लगायतका काम अहिले नै गरेर सीमांकन मात्र बाँकी राख्ने प्रस्ताव गरेको बताए।
'प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुभएको छ, हामी आजै मोर्चाको बैठकमा छलफल गर्छौं,' महतोले भने, 'मोर्चामा निर्णय नहुँदासम्म हामीले यही धारणा हो भन्ने अवस्था छैन।' मोर्चाको पुरानो धारणामा बदलाव नआएको भन्दै उनले बैठकबाट निर्णय नगर्दासम्म केही भन्न नसकिने बताए।
यसअघि सीमांकन नटुंग्याई अन्य विषयमा संशोधन गरेर अघि बढ्न नसक्ने बताउँदै आएको मोर्चा आज भने छलफल गरेर मात्र निर्णय दिने भन्दै लचिलो देखिएको छ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर प्रचण्डले सीमाङ्कन थाती राखेर विधेयक पारित गराउन सहमति जनाउन आग्रह गरेका थिए।