PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

लघुवित्त संस्थामाथि कारबाहीको तयारीमा राष्ट्र बैंक, गभर्नर भन्छन्- 'गाउँमा सामन्तीका रुपमा लिन थालियो'



पहिलोपोस्ट

लघुवित्त संस्थामाथि कारबाहीको तयारीमा राष्ट्र बैंक, गभर्नर भन्छन्- 'गाउँमा सामन्तीका रुपमा लिन थालियो'

काठमाडौं : लघुवित्त संस्थाहरुले विकृति बढाएको ठहर गर्दै नेपाल राष्ट्र बैंकले ती संस्थामाथि कारबाहीको तयारी गरेको छ। नयाँ सामन्ती र शोसकहरु राष्ट्र बैंकले गाउँघरमा छिरायो भन्ने आरोप आफूलाई लाग्न थालेको भन्दै गभर्नर चिरञ्जीवी नेपालले त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंक कारबाहीमा उत्रनुपर्ने अवस्था आउन लागेको बताए। लघुवित्त संस्थाहरु आफ्नो उद्देश्यभन्दा फरक गएर महत्वकांक्षी बन्दा विकृतिहरु आउन थालेको उनको भनाइ छ।
 
'लघुवित्तका कारण मान्छेहरु घरबारविहीन हुन थालेका छन्, मान्छेहरु झुन्डिएर मर्न थालेका छन्,' चौथो लघुवित्त सम्मेनलको उद्घाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै डा. नेपालले भने, 'तपाईहरु (लघुवित्तकर्मी) उत्साहित र महत्वाकांक्षी हुँदा विकृति धेरै बढेर गएको छ।'

 
लघुवित्त संस्था खोल्नुको उद्देश्य लगानीकर्तालाई करोडपति/अर्बपति बनाउन नभएको भन्दै उनले वास्तविक गरिवको शोषण हुन थालेको बताए। अलिअलि मात्र नभई अत्यधिक विकृति आइरहेकाले यस्ता संस्थालाई नियन्त्रण गर्नु जरुरी भएको उनको भनाइ छ।
 
'लघुवित्तका लगानीकर्ता शेयर कारोबारबाट उत्साहित हुन थालेका छन्,' उनले भने, 'उद्देश्य एउटा काम गर्को हुँदा विकृति आएको हो। तपाईंहरुको व्यवहारले राष्ट्र बैंक लघुवित्त संस्था बन्द गर्न या कारबाही गर्न बाध्य बन्दै गएको छ।' गभर्नरले लघुवित्त स्वनियमनमा बस्दै गाउँगाउँमा सरल सेवा दिन आग्रहसमेत गरे।
 
लघुवित्त विकास बैंक संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई ऋण दिनका लागि लगानी स्रोत अभाव हुँदै गएको बताए। 'स्रोतको अभाव भयो भने अहिलेसम्म लघुवित्तले गरेको काम खेर जान्छ,' उनले भने, 'स्रोतको व्यवस्थाका लागि नियामक र सरकारले सहयोग गर्नुपर्छ।'

लघुवित्त संस्थाहरु एकै ठाउँमा केन्द्रित हुँदा एउटै व्यक्तिले १० वटा संस्थाबाट ऋण पाएर विकृति निम्तिएको उनले बताए। विकृति रोक्नका लागि चालु आर्थिक वर्षभित्रैबाट कर्जा सूचना केन्द्र प्रयोगमा ल्याउन उनले सुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell