PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एसएलसीको रुपान्तरित एसइईको परीक्षा भोलिदेखि, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने



रासस

भक्तपुर : देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ।
 
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।
 
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुईलाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाका लागि देशभर कुल एक हजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ।
 
त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए।
 
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ।
 
विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell