काठमाडौं : विश्व पानी दिवस र विश्व मौसम दिवसको अवसरमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मनाइने भएको छ।
मार्च २२ तारिखमा मनाइने विश्व पानी दिवस र मार्च २३ मा मनाइने विश्व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा पनि राष्ट्रिय जल तथा मौसम सप्ताह यही यही चैत्र ४ देखि १० गतेसम्म राष्ट्रव्यापी रुपमा मनाउन लागिएको हो।
यस कार्यक्रमको लागि जल तथा उर्जा आयोगको नेतृत्वमा नेपालका सरकारी तथा गैह्र सरकारी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरु रहेको एउटा राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समिति गठन गरिएको छ। जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुधन अधिकारीको अध्यक्षतमा गठित आयोजक समितिमार्फत पानी र मौसमसम्बन्धी सप्ताहव्यापी विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको हो।
विश्वरभर नै जलवायु परिवर्तनका कारण पानीका श्रोतहरु घट्दै गइरहेको र विषम मौसमी घटनाहरुमा आएको वृद्धिले जनसाधारणको जीविका तथा दैनिकीमा नै संकट पर्ने अवस्थामा स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउँदै र पानीको स्रोत र दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्म ध्यानाकर्षण गराउनुको साथै फोहोर पानीको प्रशोधन र पुन: प्रयोगको महत्व र यसको विविध प्रयोगमा वृद्धिको लागि जोड दिनु यस कार्यक्रमको मूल उद्देश्य रहेको बताइएको छ।
यही अवसरमा नेपालमा आयोजना गर्न लागिएको कार्यक्रममा फोहोर पानीको पुनर्प्रयोग र सरसफाइ, नदी तथा जलाधारका साथै मौसमसम्बन्धी चेतनामूलक विविध प्रकारका कार्यक्रमका तथा अध्ययन/अनुसन्धानका परिणामबारे छलफल गोष्ठीहरुको आयोजना गरिने भएको छ।