PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

आन्द्रामा समस्या देखिएपछि एमाले नेता अधिकारी उपचारका लागि बैंकक प्रस्थान



पहिलोपोस्ट

आन्द्रामा समस्या देखिएपछि एमाले नेता अधिकारी उपचारका लागि बैंकक प्रस्थान

काठमाडौँ : नेकपा एमालेका नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।
 
आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराए। चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी थाई एअरवेजमार्फत उपचारका लागि बैंकक गएका हुन्।
 
पूर्वअर्थमन्त्री समेत रहेका उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए। अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो। 'उपचारपछि घरमा आराम गर्नुभएको थियो,' उनले भने, 'तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो।'
 
अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य गएका छन्। बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव विष्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell