PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु



पहिलोपोस्ट

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

फलेवास (पर्वत) : गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा र्‍याफ्टिङ सुरु भएको छ। 

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ। जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन्। 

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन्। स्वेदशी पर्यटकको आवागमनसमेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताए। अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन्। 

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। कुश्मा नगरपालिका–१ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ। तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ। कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। 

जिल्लामा जलयात्राको क्षेत्रमा काम गर्ने निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक जलयात्राका लागि कालीगण्डकी आउने गर्दछन्। जलयात्राका लागि गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्। 

नदीमा जलयात्रा गर्ने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्नेलगायत कारणले जलयात्रा गर्न असहज भएको पर्यटक पथप्रदर्शक गणेश पुन बताउँछन्। अर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell