
काठमाडौँ : राजधानीको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका आरआरका उम्मेदवार समेत रहेका टपेन्द्रबहादुर शाहीले दायर गरेको मुद्दामा अदातलले निर्वाचन गराउन आदेश दिएको हो। शाहीले गत फागुन २३ गते मुद्दा दायर गरेका थिए।
यसअघि फागुन १४ गते त्रिभुवन विश्वविद्यालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने घोषणा गरेको थियो। तर विद्यार्थी संगठनहरुको आग्रहकै कारण १८ गतेका लागि सारिएको थियो। यद्यपि काठमाडौँका अधिकाशं आङ्गिक क्याम्पसहरुमा १८ गते निर्वाचन हुन सकेको थिएन। राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पसमा २३ गतेका लागि निर्वाचनको तयारी भए पनि सुरक्षाकर्मीहरुले क्याम्पस प्रमुख सहितलाई परिसर भित्र छिर्न अवरोध गरेका थिए। अवरोधका कारण निर्वाचन प्रभावित भएको थियो।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो। साथै २३ गतेको निर्वाचन हुन नसकेको विषयमा कारण देखाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ।
निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि त्रिभुवन विश्वविद्याललाई परिपत्र गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन भनेको थियो।