.jpg)
काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक अभियान भएको बताएका छन्।
नयाँ दिल्लीमा आज आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’ मा ‘बुलेट टु ब्यालेट’ विषयमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
उनले विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यत: बुलेटदेखि व्यालेटसम्म, के कारण यो सम्भव भयो? सोका परिणामहरु के के भए? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरणमा सघाउ पुर्याउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्याउँछ भन्ने बारेमा केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए।
‘बुलेट टु ब्यालेट’ शीर्षकमा बोल्दै उनले यो विषय नेपालको हालैको अनुभवबाट सिक्न सकिने मध्येको एक महत्वपूर्ण पाठ भएको बताए। उनले भने, 'हामीले विषयवस्तुलाई धेरै सामान्यीकरण पनि गर्नुहुन्न। किनभने, बुलेटबाट व्यालेटमा संक्रमणका अनुभवहरु समय र परिवेश विशेषका अनुभवहरु हुन्, नेपालको सन्दर्भ एक यस्तो उत्तम सन्दर्भ हो जहाँ सिक्नु पर्ने र सिक्नु नपर्ने कैयौं विषयहरु छन्।'
उनल नेपालको राजनीतिमा संक्रमणकाल जारी रहेको भन्दै नयाँ रुपमा देखा परेका दीर्घकालीन समस्याहरु रहेको र तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने बताए। उनले भने, 'सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ। म आफैं जो माओवादी जनयुद्धको अग्रपंक्तिमा एक दशक होमिएँ, त्यसपछि संविधान निर्माणको अग्रणी भूमिका निर्वाह गरें अहिले माओवादी पार्टीदेखि अलग भएको छु।'
उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीनजस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति भएको बताउँदै उनले समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यो चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा भएको धारणा राखे।
सम्बोधनका क्रममा उनले भने, 'राजनैतिक द्वन्द्वहरु कहिलेकाहीँ कुनै पनि पक्षको पूरै जित वा हारको अवस्थामा पुग्न नसकी बीचैमा टुंगिएको पनि हुन्छ, यस्तो अवस्थामा संविधान निर्माण एक युद्धविरामको अवस्था वा शान्ति सम्झौताको अवस्थामा परिणत हुन्छ, यस्तो अवस्थामा बन्ने संविधान द्वन्द्वरत पक्षहरुको सम्झौताको दस्तावेजका रुपमा ग्रहण गरिन्छ।'