PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

चितवनमा राजनीतिक सेल्टर लिन खोज्दै प्रधानमन्त्री प्रचण्ड



मनोज सत्याल

काठमाडौँ : संविधानसभाको पहिलो निर्वाचनमा रोल्पा २ र काठमाडौँ १० बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचन जित्न हम्मेहम्मे पर्‍यो। दुई स्थानबाट निर्वाचन प्रतिस्पर्धामा जुटेका प्रचण्ड काठमाडौँ १० बाट पराजित भए भने सिरहा क्षेत्र नं ५ बाट बल्लतल्ल निर्वाचित भए। उनी एमालेका लीलानाथ श्रेष्ठसँग केवल ९ सय २३ मतअन्तरले विजयी भए।
 
नयाँ संविधान अनुसार अब दुई निर्वाचन क्षेत्रबाट उठ्ने सुविधा प्रचण्डलाई छैन। यस्तोमा उनी आफ्नो राजनीतिक भविष्य कतै स्थायी बनाउने दाउमा देखिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित हुने गरेका छन्। त्यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापालाई स्थायी निर्वाचन क्षेत्र बनाउँदै आएका छन्। तर प्रचण्डको निर्वाचन क्षेत्रमा स्थिरता देखिएको छैन।


प्रधानमन्त्री निर्वाचित भएपछिका पछिल्ला ‘मुभ’ हेर्दा कर्मथलो चितवनलाई निर्वाचनको ‘सेल्टर’ बनाउँदैछन् उनी। यसबीचमा चितवनमा खुद्रे आयोजनाको शिलान्यासदेखि विकासका काममा उनी सक्रिय छन्। काठमाडौं र रोल्पा छाडेर यो पटक प्रचण्ड चितवन केन्द्रित छन्। 


प्रधानमन्त्री बनेपछि मात्र पाँच पटक भ्रमण

कास्कीमा जन्मिए पनि प्रधानमन्त्री प्रचण्डको बाल्यकाल चितवनको शिवनगरमा बितेको हो। प्रधानमन्त्री बनेपछि अहिले प्रचण्ड चितवन लक्षित राजनीति गरिरहेका छन्। माओवादी केन्द्रका नेताहरुका अनुसार अध्यक्ष प्रचण्ड अब चितवनलाई आफ्नो स्थायी राजनीतिको केन्द्र बनाउन लागिरहेको बताउँछन्।

प्रधानमन्त्री निर्वाचित भएपछि चितवनमा गरेको भ्रमणबाट पनि त्यो पुष्टि हुन्छ।

साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका उनी पाँच पटक चितवन पुगिसकेका छन्। असोज १२ गते पहिलो पटक उनी चितवन पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसपछि समेत ४ पटक चितवनका विभिन्न कार्यक्रममा सहभागी भएका छन्।


संविधानसभामा राज्य पुनर्संरचनाको बहस हुँदा चितवनलाई अखण्ड राख्नुपर्ने पक्षमा प्रचण्डले सार्वजनिक रुपमै धारणा राखेका थिए। चितवन टिकौलाको सभामा उनले चितवन अखण्ड राख्नुपर्ने मागको पक्षमा बोलेका थिए। प्रदेशमा सीमाङ्कन विवादमा झापा, मोरङ र सुनसरीको पक्षमा एमाले अध्यक्ष केपी ओली र सुदूरपश्चिमको पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिँदा चितवनबारे प्रचण्डलाई जोडेर प्रश्न उठाइने गरेको छ। प्रचण्डले पनि चितवन जिल्लाको अखण्ड हुनुपर्ने पक्षमै छन्।

प्रचण्डले चितवनलाई लक्षित गरेर राजनीति गरिरहेको उनले प्रधानमन्त्री भएपछि चितवनमा छुट्याएको बजेटबाट थप पुष्टि हुन्छ।
 

चितवनमा व्यापक रकमान्तर

प्रधानमन्त्री प्रचण्डले गत फागुन १ गते  तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै २१ वटा सडक निर्माणसँग सम्बन्धित रकमान्तर गरेका छन्। त्यस्तै विभिन्न क्लब र सहकारीलाई समेत बजेट उपलब्ध गराएका छन्। जसको संख्या मात्रै ४८ वटा छन्।

चितवनको रत्ननगर नगरपालिकामा प्रचण्डले पशुपालनको तालिम सञ्चालनका लागि मात्र ५५ लाख बजेट रकमान्तर गराएका छन्। त्यस्तै सहिद स्मृति प्रतिष्ठान नेपाल संस्थालाई ३० लाख दिएका छन्। जनजागृति सहकारी संस्था लिमिटेडलाई २५ लाख रकमान्तर गरिएको छ।

बजेटको रकमान्तर मन्दिर छेउमा भ्यूटावर निर्माणमा समेत भएको छ। कालिका नगरपालिकाको मन्दिरमा भ्यूटावर निर्माणका लागि ५५ लाख छुट्याइएको छ। रत्ननगर नगरपालिकामा वातावरमैत्री उज्यालो र सरसफाई शीर्षकमा पनि ५५ लाख नै रकमान्तर गरिएको छ। कालिका नगरपालिकाको मिलिजुली युवा क्लबलाई पनि ५५ लाख रकमान्तर गरिएको छ।


त्यस्तै व्यक्तिको नाम तोकेरै समेत बाटो पिच गर्न रकम दिइएको छ। रामनगर नगरपालिकामा हरिकृष्णको घरदेखि डाँडाटोल अर्यालको घरसम्म बाटो पिच गर्न ५५ लाख रकमान्तर गरिएको छ। चितवनका अधिकांश विद्यालयले रकम पाएका छन्। हात्तिगौँडा मावि पिठुवा, वैरिया मावि, जुटपानी निमाविले पनि ५५ लाख पाएका छन्।

प्रचण्डले चितवनमा मात्र दुई निर्णयमार्फत झण्डै ७४ करोड रकमान्तर गराएका हुन्। उनले एउटा निर्णयमा ५१ करोड ७१ लाख र अर्को निर्णय मार्फत २१ करोड ६५ लाख  सडक निर्माण लगायत गरी २१ करोड ६५ लाख रकमान्तर गराएका हुन्। 

अर्थ मन्त्रालयका अधिकारी प्रचण्डको चितवन मोहको अर्थ राजनीतिक रहेको बताउँछन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको समझदारी अनुसार वैशाखमा निर्वाचन गराए लगत्तै प्रचण्डले सत्ता कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्नेछन्। नयाँ बजेट आफ्नो सरकारले ल्याउन नपाउने अवस्था रहेकाले प्रचण्डले अहिले नै रकमान्तरमा चासो देखाएका हुन्।

२०७४ माघ ७ सम्म तीन तहको निर्वाचन गर्नुपर्ने र त्यसअघि फेरि सरकारमा जाने सम्भावना कम रहेका कारण पनि प्रचण्डले निर्वाचन क्षेत्र सुनिश्चित गर्न रकमान्तर गराएको ती अधिकारी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell