
फलेवास : नजिक पानीको स्रोत नहुँदा पर्वतका विभिन्न गाविसका भूकम्पपीडित समस्यामा परेका छन्।
पिउने पानीको समेत अभाव भएपछि भूकम्पले घर भत्किएकालाई पुनर्निर्माणमा समस्या परेको छ। भूकम्प गएपछि १६ महिना टहरामा बसेका शालिग्राम–५, हनुमानडाँडाका माधवप्रसाद भट्टराईले गत पुसमा नयाँ घर बनाउन थाले पनि पानी अभावले समस्या परेको बताउनुभयो । घर बनाउन थालेको केही दिनमै नजिकैको मूलको पानी सुक्यो। गारो लगाउन पानी नपाएर समस्या भएको उनले बताए।
हनुमानडाँडाकै गङ्गाराम, अनिल, शोभाखर, ज्ञानप्रसाद, टीकाराम, आनन्दमणि, भूपराज र रमेशचन्द्र भट्टराईलगायतले पनि पानी अभावकै कारण अझसम्म घर बनाउने आँट गर्न नसकेको बताएका छन्। खानेपानीको समेत अभाव झेल्दै आएका हनुमानडाँडाका बासिन्दाका लागि घर बनाउन चाहिने पानी बोक्न सम्भव नभएपछि पुनर्निर्माणमा समस्या परेको गुनासो गरेका छन्।
‘घरको जग हाल्ने बेलासम्म मूलमा अलिअलि पानी थियो’ माधवले भने ‘भूकम्प प्रतिरोधी घर बनाउने भनेर पिलर हालियो। अहिले पिलर र टाइबिम भिजाउने पानी पनि नहुँदा समस्या परेको छ।’
वर्षामा आकासे पानी जम्मा गरी घरको बाँकी काम गर्ने योजना बनाएका उनलाई वर्षाले नियमित काम गर्न अवरोध गर्ने डर रहेको छ। घर बनाउने पैसा सरकारले दिन्छ भनेर डेढ वर्षसम्म कुरेका भूकम्पपीडित प्राविधिक मूल्याङ्कनमा परे सरकारी पैसा नरोकिने बुझेपछि घर बनाउन तम्सिएका थिए। तर बढी प्रभावित क्षेत्रमा पिउने पानीको समेत अभाव भएपछि धेरैजसोले घर सुरु गर्न सकेका छैनन्। कतिपयले निर्माण गर्दागर्दैका घर बीचैमा छाडेका छन्। यो वर्ष लामो समय आकाशे पानी नपर्दा पानीका स्रोत सुक्न थालेकाले बढी समस्या भएको भूकम्पपीडितले बताएका छन्।
‘पिउने एक गाग्री पानीका लागि चिट्ठा हाल्नुपर्छ’, हनुमानडाँडाका अनिल भट्टराईले भने ‘घर बनाउने पानी कहाँ खोज्नु ?’ घर बनाउँदा दैनिक दुई हजार लिटरसम्म पानी आवश्यक पर्ने उनले बताए।
भूकम्पले बढी क्षति पु¥याएका रानीपानीको पोखराचौर र इमिचौर, शङ्करपोखरीको पुर्कोट तथा तिलाहारका केही बस्तीमा हिउँदका ६ महिना खानेपानीको समेत अभाव हुँदै आएको छ। भूकम्पका कारण नजिकका मूलसमेत सुक्न र अन्यत्रै सरेपछि झनै समस्या भएको रानीपानीका माधव पराजुलीले गुनासो गरे।