
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) सिफारिस विवादको मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ।
संयुक्त इजलासले फागुन १८ गते जारी भएको अन्तरिम आदेश निरन्तरता भए आइजिपीमा सिफारिस जयबहादुर चन्दको नियुक्ति कार्यान्वयन रोकिनेछ। रिट जारी भएमा अदालतको आदेशानुसार सरकारले आइजिपी सिफारिस प्रक्रिया पुनः अघि बढाउनुपर्नेछ।
सर्वोच्चले महानिरीक्षक बढुवाका प्रत्यासी डिआइजी नवराज सिलवाल तथा अधिवक्ता कपिलदेव ढकालका तर्फबाट दायर रिटलाई लगाउ कायम गरी सुनुवाइ अघि बढाएको छ।
आजदेखि मुद्दाका निवेदकका तर्फबाट बहस सुरु हुनेछ। दुवै पक्षको बहसपछि अदालतले मुद्दामाथिको अन्तिम छिनोफानो गर्नेछ।
सेवा अवधिका कारण उपेन्द्रकान्त अर्यालले अवकाश पाउनु एक दिनअघि नै नेपाल प्रहरीको २५औं महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई सरकारले फागुन १ गते नियुक्त गरेको थियो।
सम्बन्धित समाचार: