
फ्रेन्च क्लब मोनाको इंगलिस क्लब म्यानचेष्टर सिटीलाई अवे गोलको आधारामा पछि पार्दै युरोपकै प्रतिष्ठित क्लब फुटबल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेग ५-३ ले गुमाएपनि दोस्रो लेगमा ३-१ को जित हात पार्दै मोनाको सिटीलाई पछि पारेको हो।
मोनाकोले सिटीको मैदानमा ३ गोल गरेका कारण समग्रमा स्कोर ६-६ भएपनि मोनाकोलाई अवे गोलको फाइदा पुग्यो।
मोनाकोलाई घरेलु मैदानमा भएको दोस्रो लेगमा जित दिलाउन लोटिन फाविन्हो र बाकायाकोले गोल गरे। सिटीका लागि लरेय सानेले गोल गरेपनि त्यो पर्याप्त रहेन।
सिटी बाहिरिएसँगै इंगल्याण्डबाट अन्तिम आठमा पुग्ने एक क्लब मात्र भएको छ। प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी स्पानिस क्लब सेभयिालाई हराउँदै पहिलो सहभागितामै कवाटरफाइनल पुगेको हो।
यस्तै एथ्लेटिको मड्रिडले दोस्रो लेगमा जर्मन क्लब बायर लेभरकुजनसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ४-२ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। यसअघि नै स्पेनबाट बार्सिलोना र रियल मड्रिडले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।
एथ्लेटिकोले पहिलो लेगमा लेभरकुजनलाई उसैको मैद्यानमा ४-२ ले पराजित गरेको थियो।
मोनाको र एथ्लेटिको वियजी भएसँगै कवाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङगो लागिसकेको छ। जसमा स्पेनबाट सर्वाधिक ३, जर्मनीबाट २ तथा इंगल्याण्ड, इटली र फ्रान्सबाट एक उक क्लब छन्।