काठमाडौं : पूर्वकृषि सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरिढुङ्गेल मृत अवस्थामा भेटिएका छन्। डिल्लीबजारमा कोठा लिएर एक्लै बस्दै आएका ढुंगेल ओछ्यानमै मृत फेलापरेका हुन्।
हिजो दिउँसोसम्म स्वास्थ्य समान्य रहेका कारण हिँडडुल र भेटघाट गरिरहेका ढुंगेल साँझ आफैँ हिँड्दै अस्पताल पुगेका थिए। 'अस्पतालमा डाक्टरले सामान्य अवस्था छ चिन्ता लिन पर्दैन भनेर ग्याष्ट्रिकको औषधि दिएर पठाएका रहेछन्, उहाँले मलाई 'हर्टअट्याक' हुन सक्छ, सामान्यरुपमा नलिनुस् भन्दै ठट्टा समेत गर्नुभएको रहेछ,' कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले भने, 'तर बिहान मृत भेटिनुभयो। के भएको भन्ने त अब 'पोस्टमामार्टम रिपोर्ट'ले नै बताऊला।'
उनलाई अस्पताल लगेका नजिकका सहयोगीले सधैँ उठ्दा ताल्चा झुण्डिने ढुंगेलको ढोका बन्द मात्र भएको देखेपछि ढकढक्याउन पुगेका थिए। उनले नै ढोका बन्द छ के भयो भन्दै आफन्त डाकेपछि चुक्कुल तोडर भित्र जाँदा ढुंगेल मृत भेटिएका थिए।
२०५६ सालको संसदीय निर्वाचनमा रमेछाप क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका ढुंगेल कृषि सहायक मन्त्रीसम्म भएका थिए। आजीवन अविवाहित रहेका उनी मादक पदार्थ र माछामासुबाट समेत टाढा थिए।
राजनीतिमा पैसा र बाहुबलको प्रभाव पर्न हुँदैन भन्ने मान्यता राख्ने ढुंगेल नेपाली कांग्रेसको १३औं महाधिवेशनमा महासमिति सदस्यका रुपमा सहभागी थिए।
ढुंगेलको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। पोस्टमार्टम सकिएलगत्तै उनको शव दिउँसो २ बजेपछि दुई घण्टा पार्टी कार्यालय सानेपा ललितपुरमा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेसले जनाएको छ। त्यसपछि आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।