
बर्दिवास : महोत्तरीको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ।
खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ।
यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन्। किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताए।
पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ। त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्ष समेत रहेका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताए।
‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्,’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भनिन्, 'पोहोर सालमात्र करिब रु चार लाख ऋण लिएर खनाइएको इनार यसपालि चैत लाग्दै सुक्यो, अब के गर्ने होला?' सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन्।
पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन्।