PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बेपत्ता भएको पाँच महिनापछि फेसबुकमा भेटिए दीपक, पारिवारिक मिलनमा रुवाबासी



रासस

बेपत्ता भएको पाँच महिनापछि फेसबुकमा भेटिए दीपक, पारिवारिक मिलनमा रुवाबासी

अर्घाखाँची : रोल्पाको पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए। कात्तिक ४ गते घरबाट हिँडेका उनलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे। रेडियो पत्रपत्रिकामा सूचना राखे। तर परिवारका सदस्यले कतै फेला पार्न सकेनन्।

घुम्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे, अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले। उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो, दीपक अझै जिउँदै रहेछन्। 'परिवारले खुसी हुँदै मसँग फोन सम्पर्क गरे,' सहयोगी बिसीले भने।

दीपक अर्घाखाँचीमा आफूसँग सुरक्षित छन् भन्ने खबर बिसीले दिएपछि त्यही आधारमा बुबा रामबहादुर र भाइ टकबहादुर सन्धिखर्कमा आए। ‘जति बेला उनी तीन जनाको भेट भयो, रुवावासी नै चल्यो,' बिसीले भने,' यो क्षण देख्दा हाम्रो पनि आँखा रसाए।

दुई छोरी र एक छोराका पिता हुन् दीपक। झन्डै १० वर्षअघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेर गएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए।
 
उनलाई सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ।
 
बेवारिसे व्यक्ति देखेर दुई-चार घन्टा समय दिँदा एउटा परिवारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी खुसी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell