PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

भारतीय गृहमन्त्रीसँगको भेटमा सीमा विवाद सुल्झाउन निधिको यस्तो प्रस्ताव



पहिलोपोस्ट

भारतीय गृहमन्त्रीसँगको भेटमा सीमा विवाद सुल्झाउन निधिको यस्तो प्रस्ताव

काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सीमा विवाद समाधानका लागि काम गर्न प्रस्ताव गरेका छन्। भारतीय समकक्षी राजनाथ सिंहसँगको भेटमा निधिले विगत तीन वर्षदेखि सीमा समस्या समाधानका लागि काम भइरहेको भन्दै तीन वटा संयुक्त प्राविधिक टिममा अब थप दुई टिम थपेर सीमा स्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका हुन्। 

नर्थब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। 

'दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,' गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जारी गरेको प्रेसनोटमा उल्लेख छ।
 
भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोलीबाट एक नेपालीको मृत्यु भएको घटनाबारे समकक्षी सिंहको ध्यानाकर्षण गराएका थिए। जवाफमा भारतीय गृहमन्त्री सिंहले गोली चलेको घटनालाई अफसोसपूर्ण भन्दै दुःख व्यक्त गरेको प्रेस नोटमा उल्लेख छ।

भेटमा गृहमन्त्री निधिले विगतको संविधानसभा चुनावमा भारतीय पक्षले गृह मन्त्रालय र निर्वाचन आयोगलाई आवश्यक पर्ने 'लजिस्टिक सपोर्ट' गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरे। भारतीय समकक्षी सिंहले 'लजिस्टिक सपोर्ट' गर्ने विषयलाई सकारात्मक रुपमा लिएको बताए। भेटवार्तामा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए। 

प्रतिआतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली गएका निधि राजनीतिक भेटघाटमा व्यस्त छन्। गृहमन्त्री निधिले आजै भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेट्ने कार्यक्रम छ। उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell