काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लाका पीडितलाई तेस्रो किस्ताको अनुदान वितरण गरेको छ।
सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका दोलखाका ६७ घरधुरीलाई तेस्रो किस्ताको आवास अनुदान रकम वितरण गरिएको हो। 'भूकम्पबाट अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण सुरु नगरेको गुनासो थियो,' प्राधिकरणका प्रेस सहयोगी दिनेश पाण्डेले जारी गरेको प्रेसनोटमा भनिएको छ, 'दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तीव्रता पाएको हो।'
दोस्रो किस्ता लिएका दोलखाका २ सय ५८ घरधुरीमध्ये सरकारी मापदण्ड र प्रक्रिया पूरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ समेत वितरण गरिएको प्राधिकरणले जनाएको छ।
तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा दोलखाको क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका भूकम्पपीडित छन्। तेस्रो किस्ताको थप एक लाख रुपैयाँ लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन्।
सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घरको जग हाल्नेलाई दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्ता बापत एक लाख रुपैयाँ आवास निर्माणका लागि अनुदान दिइरहेको छ। प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरेको छ।
दोस्रो किस्ता बापतको रकम जिल्ला पठाइसके पनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पूरा गरेका छैनन्।